२०८१ बैशाख १६

बसन्त ऋतुको हिमाल आरोहण अनुमति वितरण शुरु ।

काठमाण्डौँ, पर्यटन विभागले यस बर्षको वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो ।
हिजो मंगलबारसम्म विभिन्न पाँच वटा हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिएको विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङले बताए । उनका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् ।


तीमध्ये सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका लागि आठ, हिमलुङका लागि पाँच र जुगल हिमाल लागि एक जना आरोहीले अनुमति लिएका छन् । हालसम्म वितरण भएका आरोहण अनुमतिबाट एक करोड ८२ लाख ७७ हजार ९ सय ८० रुपियाँ दस्तुर संकलन भएको विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथा सहितका हिमाल आरोहणका लागि सर्वाधिक सख्यामा आरोही आउने गरेका छन् ् । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए ।
यस वर्ष हिमाल आरोहणका लागि आरोहीले अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएकाले अनुमति लिन सहज हुनुका साथै आरोहीको सख्या बढ्न सक्ने विभागको विश्वास छ ।