२०८१ श्रावण १२

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुलाउने तयारी ।

काठमाण्डौँ, सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरे लगत्तै काठमाण्डौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।
हिजो (सोमबार) जिल्ला प्रशासन कार्यालय काठमाण्डौँमा बसेको जिल्ला सुरक्षा समिति, व्यवसायीहरुसँग छलफल भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको छ । यसबारेमा सम्बन्धित निकाय र व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छ । सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने तयारी सरकारको रहेको छ ।
व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय बासीहरु सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने भन्नेबारे निर्णय भने भइनसकेको प्रजिअ बस्नेतले बताए ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिँउसो र रातिको मूल्य फरक बनाउन नपाउने बताए । उनले २४ सै घण्टा बजार खुला गरेपछि अहिलेको भन्दा अपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोही अनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए ।
बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने मागलाई सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए ।