२०८१ श्रावण १२

बार्सिलोनाद्धारा एट्लेटिको मड्रिड पराजित ।

काठमाण्डौँ, एट्लेटिको मड्रिडमाथि शानदार जीत हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार भएको खेलमा ३–० को जीत हासिल गर्दै बार्सिलोनाले यो सिजन एट्लेटिकोलाई पहिलोपटक घरेलु मैदानमा हराएको हो ।
खेलको ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । लिगमा यो सिजन फेलिक्सको यो छैटौँ गोल थियो ।
दोस्रो हाफको सुरुवातमा नै रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । ६५ औँ मिनेटमा फर्मिन लोपेजले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
जीतपछि जिरोनालाई उछिन्दै बार्सिलोना लिगको दोस्रो स्थानमा पुगेको छ । २९ खेलबाट बार्साको ६४ अंक रहेको छ । टोली शीर्ष स्थानमा रहेको चिर प्रतिद्वन्द्वी रियल मड्रिडभन्दा ८ अंकले पछि छ । एट्लेटिको ५५ अंकसहित लिगको पाँचौँ स्थानमा सीमित छ ।