२०८१ श्रावण १२

सांसद राजीव गुरुङ (दीपक मनाङे)द्धारा पार्टी परित्याग, गण्डकीको राजनीतिमा नयाँ तरङ्ग ।

काठमाण्डौँ, गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एकीकृत समाजवादी पार्टी परित्याग गरेका छन् ।
प्रदेशसभामा मनाङ १(२) बाट प्रत्यक्ष निर्वाचित राजीव गुरुङ (दिपक मनाङे) स्वतन्त्र रूपमा निर्वाचित भएपछि समाजवादी प्रवेश गरेका थिए । तर, केन्द्रमा भएको राजनीतिक समीकरणको फेरबदलपछि उनले एकिकृत समाजवादी पार्टी परित्याग गरेका हुन् ।
सांसद गुरुङले एकिकृत समाजवादीका सचिव हरिराज पोखरेललाई दल त्याग गरेको लिखित जानकारी गराएका छन् । ‘स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु,’ भनेका छन् ।
बिना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने त्यसको असर गण्डकी प्रदेशमा पर्नसक्ने परिस्थिति सृजना हुन नदिन सधैँ प्रतिबद्ध रहेको बताएका छन् ।’
उनले केन्द्रको गठबन्धनले पनि एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्‍याउन सहज नहुने बताए । नयाँ गठबन्धनले पनि बहुमत नपुर्‍याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने बताए ।
केन्द्रको गठबन्धनले वर्तमान गण्डकी प्रदेशसभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिएकाले आपूm मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको पनि बताए ।
नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनको दल त्यागले गण्डकी प्रदेशको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।
कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस एक्लैसँग २७ सिट छ । उसलाई चार सिट भएमा सरकार कायम रहने अवस्था छ । प्रदेशसभामा एमालेसँग २२, माओवादी केन्द्रसँग ७ सिट छ । यो प्रदेशमा राप्रपासँग दुई सिट मात्र रहेको छ । प्रदेशसभामा मनाङ १(२) बाट प्रत्यक्ष निर्वाचित राजीव गुरुङ (दिपक मनाङे) एक्ला स्वतन्त्र सांसद हुन् ।