२०८१ श्रावण १२

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै ।

काठमाण्डौँ,आज गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिँदै छ । पर्यटकीय राजधानी घोषणासँगै पोखराका मुख्य बजार २४ घण्टा खुला हुने भएको छ ।
शनिबार भएको सरोकारवालासहित जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारहरुले २४ घण्टा खोल्ने अनुमति पाए पनि अन्य बजार राति १० बजेपछि बन्द हुने गरेको थियो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले केही मापदण्ड पूरा भएका मुख्य सहरी क्षेत्र २४ घण्टा खुला राख्ने निर्णय भएको बताए ।
आज दिउँसो फेवातालको किनार बाराहीघाटमा हुने कार्यक्रमकाबीच पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै पोखरा पुगिसकेका छन्। कार्यक्रममा लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको ¥याली निकालिनेछ। कार्यक्रममा वरिष्ठ गायिका हरिदेवी कोइराला, कन्दरा ब्यान्डका मुख्य गायक विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, प्रकाश सपुत, धर्मेन्द्र सेवान लगायतले सांगितिक प्रस्तुती रहनेछ।
आजबाट महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, नागढुंगा, मुस्ताङचोक, राष्ट्र बैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ घण्टा खुला हुने छन् ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले सुरक्षा समिति र सरोकारवालाको बैठकले पहिलो चरणमा राति १ बजेसम्म र रातभर खोल्नेगरी दुई खालका कार्यविधि बनेको बताए ।
प्रशासनको यो निर्णयबाट पर्यटन व्यवसायी उत्साहित छन्। एकातिर पर्यटकीय राजधानी घोषणा, अर्कातिर पर्यटकीय क्षेत्र २४ सै घण्टा खोल्ने निर्णयले पर्यटन व्यवसायमा उत्साहको सञ्चार हुने पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । होटल संघ गण्डकी अध्यक्ष हरि शर्मा गैरे यो निर्णयले पोखरा उज्यालो र खुला रहेको सन्देश जाने र अर्थतन्त्रलाई चलायमान बनाउने विचार राखे ।