२०८१ श्रावण १२

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पक्राउ , डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिए ।

काठमाण्डौँ, सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । ६० केजी सुन तस्करीमा पक्राउ परेका भियना होटलका मालिक दावा छिरिङसँग दीपेशको सम्पर्क देखिएको थियो । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।
तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।
सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।
सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।
समितिको प्रतिवेदनले कुँवर र दाहाललाई कारबाही गर्न सिफारिस गरेपछि उनीहरुलाई सीआईबीबाट हटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालयले बताए ।
सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा सीआईबीले गरेको अनुसन्धानमा गम्भीर त्रुटि रहेको निष्कर्ष निकाल्दै ब्यूरो प्रमुख किरण बज्राचा र्यसहितका अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैगरी, आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ ।