२०८१ श्रावण १२

दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटा थपीयो ।

काठमाडौँ, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जाने नेपाली श्रमिकको कोटामा थप गरेको छ ।
अन्य देशको तुलनामा नेपाली कामदार इमानदार र मेहनती हुने भएकाले सन २०२ कालागि तय गरिएको कोटामा १३.२ प्रतिशत थप गरेको हो । दक्षिण कोरियाले यस वर्षका लागि निर्धारण गरेको १५ हजार ८४८ जना कोटामा १३.२ प्रतिशत थप गरेको वैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।
शाखाका निर्देशक मैया कँडेलले कोरियाले विदेशी श्रमिक माग गर्दै आएका १६ देशको तुलनामा नेपालले श्रमिक छनोटको प्रक्रिया छिटोछरितो गरेको भनेर यो वर्ष कोटा थप गरेको बताए ।


यसबाहेक कोरियाले सन् २०२३ सम्म कृषि तथा पशुपालन, उत्पादनमूलक र सिप बिल्डिङ क्षेत्रबाट मात्र श्रमिक लगिरहेकामा यो वर्षदेखि वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा समेत थप गरी यी क्षेत्रमा पनि नेपालबाट श्रमिक लैजाने भएको छ । विगतका वर्षभन्दा सन् २०२४ मा अझ बढी सख्यामा नेपाली श्रमिक दक्षिण कोरिया लैजाने बेहोराको पत्र कोरिया सरकारबाट आएको पनि बताए । कोरियाबाट आएका दुई वटा पत्रको आशय हेर्दा यो वर्ष नेपालबाट २२ हजारभन्दा बढी युवा लैजाने देखिएको निर्देशक कँडेलले बताए ।
हाल उत्पादन, कृषि तथा पशुपालन र सिप बिल्डिङ क्षेत्रको रोस्टरमा रहेकालाई समेत वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा लैजाने योजना रहेका कारण परीक्षा पास भएका सबै युवा कोरिया प्रवेश गर्न सक्ने सम्भावना बढेको छ । यसअघि रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत रोस्टरमा रहेकामध्ये ३० जना छनोट गरेकामा तीन जना कोरिया प्रवेश गरिसकेका छन् । हाल रुट इन्डस्ट्री क्षेत्र अन्तर्गत वेल्डिङमा पाइलटका रूपमा श्रमिक माग गरिएको छ । रुट इन्डस्ट्री क्षेत्रका उपक्षेत्र थप गरी अझ बढी कामदार लैजाने योजना कोरिया सरकारको रहेको निर्देशक कँडेलले जानकारी दिए ।