२०८१ श्रावण १२

आन्तरिक कर्जा ३.२ र निक्षेप ७ प्रतिशतले बढ्यो ।

काठमाडौँ, चालु आर्थिक वर्षको सात महिनामा कुल आन्तरिक कर्जा ३.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो कर्जा ८.० प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा यस्तो दाबी २०.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दाबी ४.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ ।
निक्षेप सात प्रतिशतले बढ्यो
समीक्षा अवधिमा बंैक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड (५.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा बैक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ ।
चालु आवको माघ मसान्तमा बैक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.८ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो ।
यस्तै माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.४ प्रतिशत रहेको छ । २०७९ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो ।