२०८१ श्रावण १२

नेपालमा भाइबर सामाजिक सञ्जालका रूपमा सूचीकृत ।

आनन्द गुरुङ,काठमाण्डौँ–नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो ।
मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको निर्देशिका बमोजिम तोकिएको प्रक्रिया पूरा गरेर भाइबर सूचीकरण गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । ‘भाइबरले सूचीकरण भएको प्रमाणपत्र लै लगेको छ,’ उनले भने,‘लिंक्ड इनले पनि सूचीकरणका लागि आवेदन दिएको छ ।


निर्देशिकामा नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण हुनुपर्ने नियम उल्लेख छ । एक लाखभन्दा बढी प्रयोगकर्ता रहेका सामाजिक सञ्जाल सञ्चालकलाई नेपालमै कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था राखिएको छ । तीनका सञ्चालकहरुले नेपालमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति तोक्निुपर्ने नियम समेत छ ।
नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफार्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने भनिए पनि सूचीकरणका लागि सञ्चार मन्त्रालयले अहिले पनि सहजीकरण गरिरहेको छ । यस्ता प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने नियम छ ।
सूचीकरण नभएका सामाजिक सन्जाल प्लेटफार्मलाई जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था गरेको निर्देशिकामा छ । निर्देशिकाले सामाजिक सञ्जाल प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने व्यवस्थालाई निर्देशिकाले जोड दिएको छ । त्यसका लागि आवश्यक अल्गोरिदमको विकास र प्रयोग गर्नुपर्ने उल्लेख छ । प्रयोगकर्ताका वैयक्तिक विवरण गोप्य राख्नुपर्ने गरी सुरक्षा मापदण्ड अपनाउनुपर्ने र यस्ता विवरण सार्वजनिक गर्न वा अन्य प्रयोजनमा प्रयोग गर्न नहुने पनि निर्देशिकामा उल्लेख छ ।
सामाजिक सञ्जालको प्रयोगका क्रममा आएका गुनासा सम्बोधन गर्ने र राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, सामाजिक सद्भावविरुद्ध हुने सामग्री प्रकाशन वा प्रसारणमा रोक लगाउनुपर्ने, सान्टाक्लारा सिद्धान्त लागू गर्ने, गराउने लगायतका व्यवस्था समेत निर्देशिकामा छ ।
नेपालमा सूचीकृत हुनका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफैं उपस्थित भई वा आफ्नो प्रतिनिधि वा अनलाइन माध्यमबाट समेत निवेदन दिन सक्ने नियम छ ।
नेपाल सरकारको सबै शर्त मानेर भाइबर नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको हो ।