२०८१ श्रावण १२

आन्तरिक हवाई यात्रुको बिमा रकम बढ्ने ।

काठमाण्डौँ, सरकारले आन्तरिक हवाई जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले पाउने बीमा बापत् क्षतिपूर्ति रकम १ लाख अमेरिकी डलर पु¥याउन कानुनी प्रक्रिया अगाडि बढेको छ ।
मन्त्रिपरिषद्को बैठकले ‘हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक’ तर्जुमा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
विधेयकमा आन्तरिक तर्फका हवाई जहाज दुर्घटनामा ज्यान गुमाउने यात्रुको परिवारले पाउने क्षतिपूर्ति रकम १ लाख डलर पु¥याउने गरी प्रस्ताव गरिएको छ ।
हाल यात्रुको परिवारले पाउने क्षतिपूर्ति २० हजार डलरमात्र छ । विधेयक संसदबाट पास भई कार्यान्वयनमा आएपछि क्षतिपूर्ति रकम ५ गुणाले बढ्ने छ ।
सरकारले यो विधेयक बनाउन २०७७ चैतमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको नेतृत्वमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछान तोकिएका थिए ।
नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मन्ट्रियल महासन्धी १९९९ लाई सन् २०१८ मा मात्र अनुमोदन गरेको थियो । यो अनुमोदन गरेसँगै अन्तर्राष्ट्रिय उडानका जहाज दुर्घटनामा पर्दा यात्रुले पाउने बीमा बापत क्षतिपूर्ति १ लाख ६५ हजार डलर हाराहारी पुगेको छ ।
मन्ट्रियल महासन्धीमा दुर्घटना मात्र नभई हवाई यात्राका दौरान हुन सक्ने विलम्ब, यात्रा स्थगन, यात्रुलाई लाग्न सक्ने चोटपटक, अंगभंग वा मृत्यु तथा वायुयानबाट ओसार–पसार गरिने मालसामान ओसार पसार क्रममा विलम्ब, नष्ट वा हराउने र बिग्रिने भएको अवस्थामा पाउने क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।