२०८१ श्रावण १२

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्री दाहालले विश्वासको मत लिने ।

आनन्द गुरुङ,काठमाण्डौँ– आज संघीय संसदको प्रतिनिधि सभा बैठक बस्दै छ । संसद सचिवालयले बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।
फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका दाहाललाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ ।
२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १ सय ३८ मत आवश्यक पर्छ । यद्यपि तीमध्ये एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । देवराज घिमिरे सभामुख भएकाले मत दिन पाउने छैनन् । दुई जना सांसद निलम्बनमा परेका छन् । अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १ सय ५१ मत छ । यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतसँग ६, लोसपासँग ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।
प्रधानमन्त्री दाहालले पहिलो पटक पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यसबेला सत्ता पक्षबाट माओवादीसहित एमाले, रास्वपा, राप्रपा, जसपा, नाउपाले र राष्ट्रिय जनमोर्चा विपक्षी दल कांग्रेस, एकीकृत समाजवादी, लोसपा र केही स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।
त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित कुल संख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।
दोस्रो पटक एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित संख्या २ सय ६२ रहेकोमा विश्वासको मतको पक्षमा १ सय ७२, विपक्षमा ८९ मत परेको थियो । दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाएका थिए ।