२०८१ श्रावण १२

आजदेखि मिथिला माध्यमिक परिक्रमा शुरु ।

काठमाण्डौँ, पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ ।
नेपाल र भारतका हजारौँ श्रद्धालु भक्तजनहरुको सहभागीता हुने परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्नेछ । आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् ।
कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने छ । फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने जनाइएको छ ।
त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यता अनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले बताए ।
अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।
परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी भएका छन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् ।
अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिक यात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका पाप नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।