२०८१ श्रावण १२

सात महिनामा दस अर्बको आइरन स्टिल निर्यात ।

काठमाण्डौँ, गएको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको भन्सार विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार गत साउनदेखि–माघ महिनाकाृ अवधिमा नेपाली आइरन, स्टिल ८५ प्रतिशतले बढेर १० अर्ब १२ करोड २० लाख रुपियाँको निर्यात भएको हो । गत वर्ष सोही अवधिमा जम्मा पाँच अर्ब ८५ करोड रुपियाँको निर्यात भएको थियो । अधिकांश स्वदेशी वस्तुको निर्यात घटिरहेका बेला आइरन स्टिलको निर्यातमा भने उल्लेख्य वृद्धि भएको विभागले जनाएको छ ।
सात महिनाको अवधिमा मुलुकबाट ८६ अर्ब ८३ करोड रुपियाँ बराबरको सामान निर्यात हुँदा सबैभन्दा धेरै निर्यात आइरन स्टिलको भएको हो । निर्यातमा आइरन र स्टिलको हिस्सा ११ प्रतिशत रहेको छ ।
गत वर्ष आइरन स्टिलको निर्यात १० अर्ब ८२ करोड रुपियाँ बराबरको भएको थियो ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत सात महिनामा सबैभन्दा धेरै ७ सात अर्ब रुपियाँ बराबरको जस्तापाता निर्यात भएको छ । जस्तापाता, जिआई पाइप, किचन सामग्रीलगायतका आइरन र स्टिलमा केन्द्रित सामानहरू नेपालबाट भारत निर्यात हुने गरेका छन् । व्यवसायीले आइरन स्टिलको कच्चा पदार्थ आयात भारतबाट गरेर पुनः सामान उत्पादन गरेर निर्यात गर्ने गरेका छन् ।
त्यसैगरी, सात महिनाको अवधिमा एक अर्ब ७७ करोड रुपियाँको सिमेन्ट निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ३५ करोड ८९ लाख ५१ हजार सिमेन्ट निर्यात भएको थियो । सात महिनामा ९८ करोड ३७ लाख ९३ हजार रुपियाँको क्लिङ्कर निर्यात भएको छ । गत वर्ष सो अवधिमा ४२ करोड ३५ लाख रुपियाँको क्लिङ्कर निर्यात भएको थियो ।