२०८१ श्रावण १२

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बस्दै  ।

काठमाण्डौँ, सत्तारुढ गठबन्धनको बैठक बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । बैठकमा गठबन्धन दलका शीर्ष नेताहरुको सहभागिता रहने छ ।
बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेका छन् ।
त्यसैगरी प्रधानमन्त्री दाहाल वर्तमान मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएको सत्ता गठबन्धनले जनाएको छ ।सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । कानुन समितिमा छलफलमा रहेको यो विधेयकका अधिकांश विषयमा दलहरुबीच सहमति जुटिसकेको छ । विवादित केही विषयमा सहमति जुटाउने प्रयास जारी छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए ।