२०८१ श्रावण १२

आजबाट राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै, निर्वाचित सांसदको शपथग्रहण सोमबार ।

काठमाण्डौँ, आजबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा गठन भएपछि पहिलोपटक छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो । आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना छन् ।


एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको आजैदेखि पदावधि सकिँदै छ ।
त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ । माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।
आजबाट रिक्त हुने २० मध्ये १९ पदका लागि निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।