२०८१ श्रावण १२

विश्व बैंकले नेपालको प्रादेशिक र स्थानीय सडक निमार्णका लागि २६ अर्ब ५१ करोड ऋण सहयोग दिने ।

आनन्द गुरुङ,काठमाण्डौँ – विश्व बैंकले नेपालका दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर ( २६ अर्ब ५१ करोड ) रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ ।
विश्व बैंकको कार्यकारिणी समितिको शुक्रबारको बैठकले उक्त निर्णय गरेको हो । सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैंकले जनाएको छ ।
विश्व बैंकको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेको बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले बताऐ ।
वाशिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब रु १३ अर्ब २५ करोड) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिने उल्लेख छ ।
प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ । यस्तै, एक सय मिलियन (करिब रु १३ अर्ब २५) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ ।