२०८१ श्रावण १२

कफ सिरप खाँदा ६८ बालबालिकाको मृत्यु, २३ जनालाई जेल सजाय ।

काठमाण्डौँ, उज्बेकिस्तानको एक अदालतले विषाक्त मिसावट भएको कफ सिरपबाट ६८ बालबालिकाको मृत्यु भएपछि २३ जनालाई जेल सजाय सुनाएको छ ।
जेल सजाय सुनाइएका व्यक्ति कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसखोरीको अभियोगमा दोषी ठहर भएका छन् ।
उनीहरूलाई दुई वर्षदेखि २० वर्षसम्मको सजाय तोकिएको छ । ६ महिनासम्म चलेको यो सुनुवाइका क्रममा यसअघि ६५ बालबालिकाको मृत्यु भएको भनिएको थियो । एक महिनाको अवधिमा मृत्यु हुनेमा तीन बालबालिका थपिएका हुन् ।
विषाक्त पदार्थ मिसिएको सिरप भारतको मेरियन बायोटेकले उत्पादन गरेको थियो । उज्बेकिस्तानको कुरम्याक्स मेडिकलले यो सिरपलाई वितरण गरेको थियो ।
सबैभन्दा लामो २० वर्षको जेल सजाय कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई सुनाइएको छ ।
गत जनवरीमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मेरियन बायोटेकका दुई कफ सिरप खाँदा १८ उज्वेकिस्तानी बालबालिकाको मृत्यु बताएको थियो । डब्ल्यूएचओले ‘एम्ब्रोनोल’ र ‘डोक–१ म्याक्स’मा अत्यधिक मात्रामा प्रदूषक रहेको बताएको छ । मेरियन बायोटेकले त्यसबेला यी आरोप अस्वीकार गरेको थियो ।