२०८१ श्रावण १२

आज वाफ महिला फुटबल च्याम्पियनसिपको फाइनल, नेपालले जोर्डनको सामना गर्दै ।

काठमाण्डौँ, पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज (बिहीबार) नेपालले जोर्डनको सामना गर्दै छ ।
साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।
फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन् । वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन् । उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।


नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो । जारी प्रतियोगितामा नेपालले १५ गोल गरिसकेको छ भने दुई गोलमात्र खाएको छ ।
जारी प्रतियोगितामा जोर्डन पनि बलियो टोलीका रुपमा देखिएको छ । जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । जोर्डनले पनि समूहगत चरणमा आफ्नो तीनवटै खेल जितेको थियो ।


जोर्डनले फाइनलसम्म आइपुग्दा १३ गोल गरिसकेको छ भने जोर्डनले एक गोलमात्र खाएको छ । जारी प्रतियोगितामा जोर्डनकी मायसा जबारह सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा छिन् । उनले हालसम्म पाँच गोल गरिसकेकी छन् ।
त्यसैले पनि आज (बिहीबार) खेलिने नेपाल र जोर्डनबिचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । नेपालले आमन्त्रित टोलीको रुपमा यो प्रतियोगितामा सहभागिता जनाएको हो ।