२०८१ श्रावण १२

भारतका १० बैंकबाट नेपालमा फोनपे गर्न मिल्ने ।

आनन्द गुरुङ, काठमाण्डौ–नेपाल–भारतबिच आज (बुधबार)देखि अन्तरदेशीय ‘डिजिटल क्युआर पेमेन्ट’ सेवा सुरु भएको छ । नेपालमा आउने भारतीय नागरिकले क्युआर मार्फत भुक्तानी गर्न सक्ने नेपाल राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।
भारतबाट नेपाल आउने सेवाग्राहीले नेपालमा फोन पे मार्फत क्युआर गर्न सक्नेछन् । यसका लागि भारतीय नागरिकले भारतका बैंकमा खाता हुनुपर्नेछ । भारतीय बैंकका क्युआरमार्फत नेपालको फोन पे मा क्युआर गरेर भुक्तानी गर्न सक्ने निर्देशक पौडेलले बताए । तर भारतका सीमित बैंकको क्युआर मार्फत फोन पे गर्न मिल्नेगरी सेवा सुरु भएको पौडेलले बताए । २०८० को जेठ मध्य साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा अन्तरदेशीय भुक्तानी प्रणाली सुरु गर्ने सम्झौता भएको थियो ।
त्यसपछि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले अन्तरदेशीय भुक्तानी प्रणाली अघि बढाउन सम्झौता गरेका थिए । सम्झौतामा अन्तरदेशीय भुक्तानी प्रणाली नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको युनिफाईड पेमेन्ट इन्टरफेस (यूपीआई) ले अघि बढाउने उल्लेख थियो ।
फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भारतका १० वटा बैंकका ग्राहकले नेपालमा क्युआर मार्फत भुक्तानी गर्न मिल्ने बताए । उनले १३ वटा बैंकले क्युआरमार्फत भुक्तानीका लागि प्रस्ताव पठाइसके पनि ३ वटाको प्रस्तावलाई ‘इनएबल’ गर्न बाँकी रहेको बताए ।