२०८१ श्रावण १२

ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आज नामिबियाविरुद्ध खेल्दै नेपाल ।

काठमाण्डौँ, आजदेखि सुरु हुने त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलामा आज नेपालले नामिबियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।
शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने ट्वान्टी–२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो ।
शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।
आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।