२०८१ श्रावण १२

लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरे, प्रहरीको टाउको दुखाई

काठमाण्डौँ, लघुवित्तका ऋणी सोमबार दिउँसो संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।


बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितले प्रवेश गरेको विषयमा छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
समितिलाई लघुवित्तका ऋणीहरु कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिइएको एक अधिकृतले बताए ।
मिटरब्याज पीडित संसद् भवन परिसरमा कसरी प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरे पनि चासो देखाएका थिए । उनले आईजीपी बसन्त कुँवरलाई फोन गरेर यसबारे जिज्ञासा राखेका थिए ।