२०८१ श्रावण १२

सगरमाथा चढ्न जाने आरोहीहरूमा अब चिप्स जडान गरिने ।

आनन्द गुरुङ, काठमाण्डौँ– सगरमाथा आरोहण गर्न जाँदा प्रत्येक आरोहीले सरकारले उपलब्ध गराउने विद्युतीय चिप्स लैजानैपर्ने योजना बनाएको छ ।
पर्वतारोहीको विशेष पोसाकमा विद्युतीय चिप्स जडान गर्नुपर्ने नियम यही वसन्त यामदेखि नै लागु हुने छ । पर्वतारोहीको ज्याकेटमा त्यस्तो चिप जडान गरिने र त्यसले पर्वतारोहण थप सुरक्षित बन्ने सरकारको अपेक्षा छ । खोज तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाउनका निम्ति आरोहीहरूको पोसाकमा चिप जडानलाई अनिवार्य बनाउने भएका छौँ,” पर्यटन विभागको, पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताए ।
कुनै आरोही दुर्घटनावश वा अन्य कारणले उच्च हिमाली क्षेत्रमा हराएको खण्डमा तिनलाई सहज रूपमा खोज तथा उद्धार गर्न त्यस्तो चिप सहायक हुने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमै परीक्षित अनि प्रयोग भएका गुणस्तरयुक्त चिपहरू एजेन्सीमार्फत् दिने गरी हामी प्रयोगमा ल्याउँछौँ। अनि त्यसलाई पत्ता लगाउने डिटेक्टर प्रणाली पनि व्यवस्थित गर्नुपर्ने छ,” गुरुङले भने।


हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणमा ब्याटरीमा निश्चित समयमा सकिने समस्या आउने हुँदा तीभन्दा चिपको उपयोग बढी उपयोगी हुने उनी ठान्छन्।
हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिपबाट पत्ता लगाउन थप सहयोगी हुनसक्ने ठानिएको छ।
चिप उत्पादकहरूसँग अहिले सरकारले छलफल गरिरहेकाले सबभन्दा विश्वसनीय र प्रभावकारी हुने किसिमका चिप चयन गरिने बताइएको छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप जडानको योजना सकारात्मक रहेको नेपाल पर्वतारोहण सघका अध्यक्ष निमा नुरु शेर्पाले बताए । खास गरी सगरमाथा आरोहणको हकमा आरोहीहरूको साथमा अन्य गाइड तथा टोली रहने हुँदा हराउने समस्या कमै हुने भए पनि चिपको प्रयोगले दुर्घटनाका बेला खोजी र उद्धार सहज बनाउने उनी ठान्छन् ।
उच्च हिमाली क्षेत्रमा उद्धारकार्यहरूको समन्वय गर्दै आएको संस्था हिमालयन रेस्क्यू असोसिएशनले पनि नयाँ योजनाको स्वागत गरेको छ।