२०८१ श्रावण १२

इजरायली प्रधानमन्त्री नेतन्याहुद्धारा गाजा प्रशासनको योजना प्रस्तुत ।

काठमाण्डौँ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँग चलिरहेको युद्ध समाप्त भएपछि गाजा प्रशासनको योजना प्रस्तुत गरेका छन् । प्रस्तुत योजना अनुसार इजरायलले गाजा पट्टीको सुरक्षा अनिश्चितकालसम्म आफ्नो हातमा राख्नेछ ।
यद्यपि, अमेरिका भने वेस्ट बैंकको प्रशासनको निरीक्षण गर्ने प्यालेस्टिनी प्राधिकरण (पीए) लाई गाजा प्रशासनको जिम्मेवारी दिइयोस् भन्ने चाहन्छ । तर बेन्जामिन नेतान्याहुले हिजो राति आफ्ना मन्त्रीहरूलाई दिएको योजनामा पीएको कुनै उल्लेख गरिएको छैन । पीए अध्यक्ष महमूद अब्बासका प्रवक्ताले नेतान्याहुको योजना असफल हुने बताए ।
योजनाअनुसार आवश्यक सार्वजनिक प्रशासन क्षमताहरू बाहेक इजरायलले गाजालाई पूर्ण रूपमा निशस्त्रीकरण गर्नेछ । भूमिगत तस्करी रोक्न इजिप्टसँगको सीमामा कडा सुरक्षा व्यवस्था गरिनेछ ।
इजरायलले जोर्डनको पश्चिममा जल, जमिन र हवाई क्षेत्रको नियन्त्रण गर्नेछ । जनतालाई कट्टरपन्थीबाट टाढा लैजान सबै धार्मिक, शैक्षिक तथा कल्याणकारी संस्थामा कार्यक्रम सञ्चालन गरिनेछ ।
अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि इजरायलको सैन्य कारबाही सुरु भएदेखि गाजा प्रशासनसँग सम्बन्धित योजना खुलाउन नेतान्याहुमाथि दबाब बढेको छ ।