२०८१ श्रावण १२

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा ।

काठमाण्डौँ, राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट पुग्नु भएकोे छ ।
बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल बागलुङको पञ्चकोट पुग्नुभएको हो ।
राष्ट्रपति पौडेलले पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको ध्वन्यात्मक मुक्तिनाथ महाघण्टको समुद्घाटन,यज्ञ मण्डपको दर्शन र महायज्ञ सफलताको शुभकामना व्यक्त भएको महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए ।
पञ्चकोटलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न १५ दिनसम्म सञ्चालन हुने ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञको बुधवार नौ वर्ष मुनिका एक सय ८ जना कन्याहरूबाट सामूहिक दीप प्रज्वलन गरेर शुभारम्भ गरिएको थियो ।
पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएको महायज्ञ नेपालमै पहिलो भएको महायज्ञका संकल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले बताए ।
जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्न ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको हो । महायज्ञ मार्फत जल सम्पदाको संरक्षण,पर्यटन प्रवर्द्धन गर्नुका साथै मौलिक धर्म संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै पञ्चकोटलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्य रहेको महायज्ञका संकल्पकर्ता कमलनयनाचार्यले बताए । महायज्ञ फागुन २३ गते सम्म सञ्चालन हुनेछ ।