२०८१ आश्विन २

ई–सेभन भिसाका लागि कस्तो सीप चाहिन्छ ?

दक्षिण कोरियाले विशेष सीप भएका विदेशी दक्ष कामदारहरूलाई लाने गरेको ई–सेभन भिसाबाट नेपालीहरूलाई पनि पठाउन पहल भइरहेको अधिकारीहरूले बताएका छन्।
यस्तो भिसामार्फत् लगिने नेपाली कामदारहरूका लागि कोरियाली कामदार सरह ३,००० डलर (झन्डै चार लाख नेपाली रुपैयाँ) मासिक तलब हुनुपर्ने प्रस्ताव नेपालले राखेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताए ।
यस्तो भिसामा जाने कामदारहरूले निश्चित प्रक्रिया पूरा गरेपछि परिवार पनि दक्षिण कोरिया लैजान पाउने र त्यहाँ लामो समयसम्म बस्न पाउने सुविधा पाउँछन् ।
दक्षिण कोरियाले त्यहाँका व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि आवश्यक विशेष सीप भएका कामदारहरूलाई यस्तो भिसा दिने गरेको छ।
“अहिले २ हजार ५०० जना दक्ष कामदारका लागि नेपाली दूतावासमा आएको माग मन्त्रालयमा आइपुगेको छ । कामदारका लागि न्यूनतम सुविधा र सकेसम्म कम लागत हुने सुनिश्चितता गरेर हामीले यो प्रक्रियामार्फत् नेपाली कामदार जाने बाटो खोल्न काम गरिरहेका प्रवक्ता पोखरेलले बताए । मासिक २ हजार श्रमिक दक्षिण कोरिया पठाउँदै सरकार, कुन कुन क्षेत्रमा धेरै छ माग
कोरियाले ईपीएस प्रणालीमार्फत् कामदार लगिरहेका नेपालजस्तै अन्य १५ देशबाट ई–सेभन भिसामा पनि दक्ष कामदारहरू लैजान सुरु गरिसकेको छ ।
नेपालले भने यसअघि कामदार पठाइरहेको ईपीएसजस्तै दुवै देशका सरकारबीचको सम्झौताबाट कामदार पठाउने प्रस्ताव गरेका कारण ढिलो भएको बताइएको छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ले दक्षिण कोरियाली मापदण्डको तलब सुविधा हुने सुनिश्चित गरेर निजी स्तरबाट भए पनि पठाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढिरहेको मन्त्रालयका अधिकारीहरूले बताए ।
“यस्तो भिसामा बीटूबी (निजी क्षेत्रबीचको साझेदारी) मोडलबाट मात्रै कामदार लैजान सकिने भन्ने कोरियाली पक्षको कुरा आएपछि हामीले श्रमिकलाई बढी भार नपरोस् भन्नेतर्फ पहल गरिरहेका विभागले तयारी गरीरहेको पोखरेलले बताए ।
यस्तो भिसा लिएर जाने नेपालीहरू ईपीएसजस्तो सरकारी प्रक्रियामार्फत् नभई म्यानपावर व्यवसायीहरूका माध्यमबाट जानुपर्ने र त्यसका लागि कामदारले गर्ने खर्च दुई लाख रुपैयाँभन्दा कममै सीमित गर्न पहल भइरहेको पोखरेलले बताए ।

निश्चित सीप भएका कामदारहरूलाई नेपालमै आएर उनीहरूको अनुभव वा सीप परीक्षणका आधारमा लैजाने विषयमा दक्षिण कोरिया सकारात्मक देखिएको बताइएको पनि विभागले जनाएको छ।
दक्षिण कोरियामा इलेक्ट्रोनिक, मेकानिकल, पेन्टिङ, केअरगिभर, होटल तथा रेस्टुराँजस्ता क्षेत्रमा विशेष सीप भएका नेपाली कामदारहरू पठाउन सकिने मन्त्रालयको अनुमान छ।
दक्षिण कोरिया सरकारले बर्सेनि १०,हजारभन्दा बढी नेपाली कामदार ई–सेभन भिसामार्फत् लैजान सकिने सङ्केत दिएको पोखरेलले बताए ।