२०८१ श्रावण १२

नेपाली काँग्रेस महासमिति बैठकमा आजदेखि प्रतिवेदन माथि समूहगत छलफल हुने ।

काठमाण्डौँ, नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन आज (बुधबार)देखि समूहगत छलफल हुने भएको छ ।
मंगलबारको बैठकमा पेश भएका प्रतिवेदनमाथि छलफलका लागि महासमिति प्रतिनिधिहरुलाई प्रदेशगत रुपमा समूहमा विभाजन गरिएको छ । बिहान ९ बजेदेखि सुरु हुने गरी समूहगत छलफलको लागि समय तय गरिएको छ ।
ललितपुर गोदावरीको सनराइज सम्मेलन केन्द्रमा चार समूहका लागि छुट्टछुट्टै छलफल कक्ष बनाइएको छ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेशका महासमिति सदस्यले प्रतिवदेन माथि बहस गर्नेछन् । विशंखु नारायण हलमा मधेश र कर्णाली, फुलचोकी हलमा बागमती र गण्डकीका प्रतिनिधिले छलफल गर्नेछन् ।
केन्ज्योसोम हल लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुको लागि छुट्याइएको छ । केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।
सोमबारबाट सुरु भएको महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा प्रकाशशरण महतको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन पेश भएका थिए।