२०८१ श्रावण १२

नेपाली काँग्रेसको महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि छलफल सुरू हुने ।

काठमाण्डौँ, नेपाली काँग्रेस महासमितिको बन्द सत्र आज बिहान ९ बजेबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ ।
बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा.प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा सोमबार राति बल्ल सहमति जुटेको थियो ।सोमबार अपराह्नदेखि निवास बुढानीलकण्ठमा करिब ५ घण्टा पदाधिकारी र पूर्वपदाधिकारीबिच छलफल भएको थियो । थापाको प्रस्तावमा सभापति शेरबहादुर देउवा सहमत भएपछि सांठनिक प्रतिवेदन तयार भएको हो ।
महामन्त्रीको दस्ताबेजमा काँग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदैछ । महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जनाएका छन् ।