२०८१ श्रावण १२

आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ।

काठमाण्डौँ, आज ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
प्रजातन्त्र दिवसको उपलक्ष्यमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनीया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्र दिवसमा २००८ सालपछि मूल समारोह समितिद्वारा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिने परम्परा बनेको छ । दिवसका अवसरमा अन्य संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म विशेषरूपमा दिवस मनाउन आह्वान गरेको छ । प्रजातन्त्र दिवसकै जगमा करिब ७० वर्षपछि संविधान सभाबाट संविधान जारी हुन सफल भएको छ ।
दिवस मनाउन सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरिएको छ ।
काठमाडौँ उपत्यका बाहिरका जिल्ला सदरमुकाममा आयोजना हुने राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम सञ्चालनको व्यवस्थाका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय पालिका प्रमुख सम्मिलित समिति गठन गरिएको छ । साथै सरसफाइ, प्रभातफेरि, खेलकुद, प्रवचन तथा साहित्यिक गोष्ठी, साँस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनी लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।