२०८१ श्रावण १२

आज त्रिविको उपकुलपति छनोटका लागि १४ उम्मेदवारको अन्तर्वाता ।

काठमाण्डौँ, त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरुको अन्तर्वाता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले अल्पसूचीमा परी प्रस्तुतीकरणमा सहभागी भएकाहरुको अन्तर्वार्ता लिन लागेको हो ।
अन्तर्वार्तामा आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवारमा सुरु हुनेछ ।
समितिको सूचना अनुसार आज बिहान साढे ८ बजेदेखि कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको अन्तर्वार्ता हुनेछ ।
त्यसपछि दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको अन्तर्वार्ता हुने समितिले जनाएको छ ।
यसअघि त्रिविका सहकुलपति एवम् शिक्षा मन्त्री नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले सर्ट लिस्टमा परेका १४ जना उम्मेदवारहरुबाट सोचपत्र र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण लिएको थियो । ती १४ जनामध्ये ७–७ जनाको अन्तर्वार्ता दुई सिफ्टमा लिन लागेको हो ।
उम्मेदवारहरुको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनको आधारमा समितिले बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपति नियुक्तिका लागि कुलपति एवम् प्रधानमन्त्री समक्ष पेश गर्नेछ ।