२०८१ श्रावण १२

रुसी प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा निधन ।

काठमाण्डौँ, रुसमा सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको रुसी कारागार प्रशासनले जनाएको छ ।
उनलाई केही समयदेखि ठाउँसारी गरेर आक्र्टिक सर्कल जेलमा राखिएको थियो ।
रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए ।
उनलाई गत वर्ष मात्रै निकै कठोर जेलमध्येको आक्र्टिक पेनल कोलोनीमा सारिएको थियो।


रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइसकिएको बताएका छन्।
उनी एक दिन अघि अदालती सुनुवाइका क्रमको एक भिडिओमा देखा परेका थिए । त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेका देखिएको बताइएको छ ।
जेल प्रशासनले उनी शुक्रवार हिँडेपछि बिरामी भएको जनाएको छ । उनी तत्कालै अचेत भए जेलका एक जना अधिकारीले भनेका छन् । उनको उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको छ । चिकित्सकहरूले कैदीको मृत्यु भएको घोषणा गरेका छन् । मृत्युको कारण पहिचानको प्रयास भइरहेको छ,” जेल प्रशासनका अधिकारीले भनेका छन्।
नभाल्नीका वकिलले रुसी सञ्चा माध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन् ।
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो ।