२०८१ श्रावण १२

ड्युटीमा तैनाथ महिला प्रहरीको गोली हानी हत्या ।

दाङ, दाङको घोराहीमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ ।
घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी ८ः३० बजे गोली प्रहार गरी हत्या भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।
उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
धनमाया माथि उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायत बताए । तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए । उनले धनमायामाथि तीन राउण्ड गोली प्रहार गरेको बताइएको छ ।
श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । ‘श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लियो ।’
हत्याको कारण खुल्न बाँकी भएको र अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।