२०८१ श्रावण १२

फागुन ७ गते सोमबारेदेखि उत्पादनमूलक तर्फको कोरियाली भाषा परीक्षा हुने ।

काठमाण्डौँ, आगामी फागुन ७ गते सोमबारदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ ।
ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ ।
परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, समय र सिफ्टमा परीक्षार्थी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाअघि बायोमेट्रिकका लागि २ घण्टा अगावै परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने छ ।
सक्कल राहदानी र प्रवेशपत्र नभएकालाई परीक्षामा सामेल हुन नपाइने सूचनामा उल्लेख छ । सूचना अनुसार परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीको यूबीटी भवनमा हुनेछ ।
शाखाले परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिक्स्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको बताएको छ । परीक्षा हलमा एक घण्टाअघि नै ओरियन्टेसन सुरु हुनेछ र बायोमेट्रिक भरिफिकेसन पनि गरिने छ ।
परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्ने र ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गर्ने सूचनामा उल्लेख छ ।
यसपाली जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु पनि उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुँदैछन् । उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदक परीक्षामा सामेल हुँदैछन् । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने गरी तालिका तय भएको हो ।