२०८१ श्रावण १२

नेपालले आज नामिबियासँग खेल्दैछ, खेल बिहान ९ः३० मा टीयु क्रिकेट मैदानमा सुरु हुने ।

काठमाण्डौँ, नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ ः ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
२०२७ सम्म चल्ने लिग–२ मा नेपालसहित ८ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ ।
पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, र आफ्नो उच्च लयलाई निरन्तरता दिंदै विजयी सुरुआत गर्ने सोचमा हुनेछ ।
नेपालको कप्तानी रोहित पौडेल र नामिबियाको जेराल्ड इरास्मसले गर्नेछन् । नेपालले यसै साता क्यानडासँग तीन ओडीआई खेलको सिरिज खेल्दै क्लिन स्विप गरेको थियो । त्यसैले नेपालको मनोबल उच्च छ ।
गत वर्ष दुवै खेलमा पहिला ब्याटिङ गर्दै नामिबियाले २८५ र २७४ रन बनाए पनि जोगाउन सकेको थिएन । नेपाल र नामिबियाबीच भएका पछिल्ला पाँच खेलमा समान दुई खेलमा जित र हार व्यहोरेका छन् ।
नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि बुधबार नामिबिया र आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।