२०८१ श्रावण १२

आज फरवरी १४ तारिख अर्थात प्रणय दिवस ।

आज फरवरी १४ तारिख अर्थात प्रणय दिवस (भ्यालेन्टाइन्स् डे) । विश्वभर मनाईंदै छ ।
विशेष गरी युवा–युवतीले आजको दिनलाई माया साट्ने विशेष अवसरका रुपमा मनाउने गरेका छन् ।
पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिन्छ । यो दिन प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्ताव राख्ने गर्छन् ।
भ्यालेन्टाइन्स् डे को औपचारिक शुरुवात सन् २६९, रोमनबाट भएको मानिन्छ । यो दिवससँग एउटा दुःखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।
प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाँय सुनाएर जेलमा राखे ।
उनलाई सन् २६९ को फरवरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फरवरीका दिन प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स् डे मनाउने गरिएको हो ।