२०८१ श्रावण १२

आज नेपाल र क्यानडा सिरिजको अन्तिम खेल खेल्दै ।

काठमाण्डौँ, नेपालले एक दिवसीय सिरिजमा क्यानडासँगको तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ ।
नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भव त अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्ने सम्भावना बलियो छ ।
क्यानडाले दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको छ । तर, अन्तिम २० ओभर भने लगातार विकेट गुमाउँदा विशाल योगफलमा पुग्न सकेको छैन । सिरिज हारिसकेको अवस्थामा आज विना दबाब राम्रो गर्न सक्ने छ ।
नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो ।
उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो ।