२०८१ श्रावण १२

यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड क्रिकेटर देव खनाललाई ।

काठमाण्डौँ, यस वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २० औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड खनालले जितेका हुन् ।

थलेटिक्सकी राजपुरा पछाईले उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पारेकी छिन् । उनले मनोनयनको शीर्ष ३ मा परेका अनुशा मल्ल र पुष्पा भण्डारीलाई पछि पारिन् ।
उनले गत वर्ष भएको १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिप १० किमिमा रजत पदक जितेकी थिइन् भने त्यही प्रतियोगिताको महिला टिममा रजत (पुष्पा भण्डारी र विन्द्राधन्के श्रेष्ठ) हात परेकी थिइन् ।
यस्तै नवौं राष्ट्रिय खेलकुद महिला ५ हजार मिटरमा रजत जितेकी उनले वीर गणेशमान सिंह र धरान १० किमि रोड रेसमा स्वर्ण पदक हात पारिन् ।
यसबाहेक गतवर्ष नै भएका कान्तिपुर, पोखरा, लुम्बिनी, इलाम माईपोखरी र प्रधानसेनापति हाफ म्याराथनमा उनले स्वर्ण पहिरिइन् ।
नेपालगन्ज म्याराथनको ५ किमि दौडमा स्वर्ण जितेकी उनले राष्ट्रिय एथलेटिक्समा ३ हजार मिटर दौडमा रजत जितेकी थिइन् ।