२०८१ श्रावण १२

नेपालले आज क्यानडासँग खेल्दै : ओडीआई सिरिज

काठमाण्डौँ, ओडीआई सिरिजअन्तर्गत नेपालले आज क्याानडासँगको तीन मध्येको पहिलो खेल खेल्दैछ ।
नेपालको रोहित पौडेल र क्यानडाको साद बिन जाफरले टिमको कप्तानी गर्नेछन् । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुआत गर्नेछ ।
क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन् । नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ ।
नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ । करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । रिजन बायाँ हाते बलर हुँदा आज डेब्यु गर्नसक्ने सम्भावना छ ।
उता स्पिनर सूर्य तामाङले आज डेब्यू गर्ने बलियो सम्भावना छ । नेपालले प्रमुख स्पिनरको रुपमा ललितनारायण राजवंशी र सूर्यलाई मैदान उतार्ने सम्भावना छ ।
नेपालले ओपनरमा आज अनिल कुमार शाह र कुशल भुर्तेललाई मैदान उतार्ने सम्भावना छ । प्रधानमन्त्री कपमा सर्वाधिक रन बनाएका अनिललाई मौका दिने सम्भावना छ ।
उता क्यानडाका प्रमुख बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने दुविधा छ । कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन् । बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन । ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन् । उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन् ।
खेल बिहान ९ ः १५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना दिलाएका थिए । त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएकोछ ।
नेपालले यस सिरिज आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको रुपमा खेलेको हो । क्यानडाले लिग २ सिरिज यूएईमा गएर खेल्नुअघि खेलेको थियो ।