२०८१ श्रावण १२

यू–१९ विश्वकप क्रिकेट अन्तर्गत आज नेपाल–भारत भिड्दै ।

काठमाडौँ, दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आज (शुक्रबार) दोस्रो खेल खेल्दैछ ।
नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले २५.२ ओभरमै पाँच विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो । नेपालले यू–१९ विश्वकपको उपाधि जित्ने सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ ।
‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट बाहिरिएको थियो । ‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए ।
त्यो नतिजापछि नेपालसँगै न्युजिल्यान्ड र आयरल्यान्ड पनि उपाधि होडबाट बाहिरिएका थिए । साबिक विजेता भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।
उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो र बंगलादेश चार अंकसहित तेस्रो स्थानमा छन् ।
न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने प्रावधान छ ।
‘सुपर सिक्स’ चरणको समूह ‘दुई’ मा भने अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका, इङ्ल्यान्ड र जिम्बाबे रहेका छन् । ‘सुपर सिक्स’ चरणको खेलको समाप्तिपछि दुबै समूहबाट माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।