२०८१ श्रावण १२

पोखरामा मिटरमा नचल्ने ट्याक्सीलाई १० हजार जरिवाना, ६ महिना निलम्बन ।

पोखरा, गण्डकी प्रदेश सरकारले मिटरमा नचल्ने ट्याक्सीले तिर्नुपर्ने जरिवाना १० हजार तोकेको छ ।
मिटरमा नचले ट्याक्सीलाई १० हजार जरिवाना र दर्ता इजाजत नै ६ महिनासम्मलाई निलम्बन गर्ने व्यवस्था गरिएको छ । नियमावलीको नियम २२ मा तोकिएको क्षेत्रमा ट्याक्सी मिटरमा नचले ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था राखिएको छ ।
ट्याक्सी चालकहरु मिटरमा उठे बराबरको भाडा लिएर यात्रु बोक्न नमानेपछि झनै कसिलो व्यवस्था गरिएको गण्डकीका यातायातमन्त्री रेमशबहादुर जुग्जालीले बताए ।मन्त्री जुग्जालीले भने, ‘नियम कडा बनाएका छौं । छड्के चेक गर्ने क्रम निरन्तर चलिरहेकै छ ।
यसअघि मन्त्री जुग्जालीकै अगुवाइमा ट्याक्सी व्यवसायीसँग भएको छलफलमा उनीहरु १ भदौबाट मिटरमा चलाउन सहमत भएका थिए । त्यतिबेला मन्त्री जुग्जालीले मिटरमा नचल्ने ट्याक्सीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताएका थिए ।
गण्डकीमा ट्याक्सीको हालको भाडादर १५ किलोमिटरको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटरको १० रुपैयाँ तोकिएको छ । यातायात मन्त्रालयले समूह बनाएर गरेको छड्के जाँचमा झण्डै ८५ प्रतिशतले कारबाहीबाट जोगिन मिटर अन गर्ने तर भाडा भने त्यसभन्दा बढी लिएको पाइएको थियो । १० प्रतिशतले करबल गरेपछि मिटरमा जाने र ५ प्रतिशत चाहिँ मिटरमा नै चल्ने गरेको पाइएको थियो ।
यातायात नियमावली यातायात क्षेत्र सुधारको गतिलो कडी बन्ने छ । ट्याक्सीलाई नियमन गर्न र नयाँ राजश्वको स्रोत बढाउन पनि सहयोगी बन्ने छ’, जुग्जालीले भने ।राइड सेयर दर्ता गरेपछि ट्याक्सी मिटरमा चल्दैनन् भने सेवाग्राही आफैंले एप्स प्रयोग गरेर राइड सेयरिङ प्रयोग गर्ने मन्त्री जुग्जाली बताउँछन् ।
गण्डकीको यातायात ऐनको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पांग्रे तथा दुई पांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ ।
यातायात व्यवस्था कार्यालय कास्कीमा मात्र ३ लाख ११ हजार सवारी साधन दर्ता भएका छन् । तनहुँ, नवलपुरका कार्यालयमा समेत गरी गण्डकी प्रदेशमा ५ लाख सवारी साधन दर्ता छन् । ट्याक्सी भने पोखरामा २५ सय र अन्य जिल्लामा समेत गरी करिब ३५ सय हाराहारी रहेको अनुमान छ ।