२०८१ श्रावण १२

पाकिस्तानको निर्वाचन आयोग सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक गर्दै ।

आज (विहिबार) पाकिस्तानको निर्वाचन आयोगले सुरक्षा अधिकारीहरूको आकस्मिक बैठक बोलाएको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तानमा निर्वाचन नजिकिएसंगै हिंसात्मक घटनाहरु बढेको छ । उम्मेद्धार र चुनावी सभामा आतङ्कवादी समूहका साथै व्यक्तिगत प्रतिशोधका कारण निशाना बनाइएका छन् ।
पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीबाट टिकट पाउन असफल भएपछि स्वतन्त्ररूपमा उम्मेदवार रहेका रेहान जेब खानको खैबर पख्तुनख्वा प्रान्तको पूर्वआदिवासी जिल्ला बाजौरमा स्टम्प भेलाबाट बाहिर निस्केपछि कारमा गोली हानी हत्या गरिएको छ ।
उम्मेद्धार रेहान जेबको हत्या निर्वाचनको समयमा अराजकता उत्पन्न गर्ने उद्देश्यले गरिएको हत्या भएको जिल्ला प्रहरी अधिकारी काशिफ जुल्फिकारले बताए ।
हिंसामाथि छलफल गर्नका लागि आज (बिहीबार) सरकार र गुप्तचर अधिकारीहरूसँग बैठक बस्ने पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । बलुचिस्तान र खैबर पख्तुनख्वामा बिग्रिएको कानून र व्यवस्थाको अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगले बैठक बोलाएको निर्वाचन आयोगले जनाएको छ ।


फेबरवरी ८ को मतदानअघि हजारौं अर्धसैनिक बलहरू तैनाथ गरिने अधिकारीहरूले पहिला घोषणा गरेका थिए ।
बुधबार पनि बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटामा एक राष्ट्रियसभा र अर्का प्रान्तीय सिटका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारमाथि ग्रेनेडले हमला भएको पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का प्रवक्ताले बताएका छन् । आक्रमण परी पाँच जना घाइते भएको पनि जनाइएको छ ।
इरानको सीमाबाट बुलेदा नजिक पिपिपीका उम्मेदवारलाई पनि आफ्नै घरमा ग्रेनेडले निशाना बनाइएको थियो तर हमलामा कसैलाई कुनै नोक्सानी भएको थिएन ।
क्वेटामा पिटिआईको र्याली नजिकै भएको बम विस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । उक्त हमला पार्टीका संस्थापक इमरान खानलाई गोपनीय सरकारी दस्तावेज चुहाएको आरोपमा १० वर्षको कारागार सजाय सुनाइएको केही घन्टापछि भएको थियो ।