२०८१ श्रावण १२

आहारारा पोखरा गोल्डकप अन्तर्गत आज आर्मी र चर्चब्वाइज भिड्दै  ।

काठमाण्डौँ, आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।
आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।
आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ औं सहभागिता हो ।
खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ ।