२०८१ श्रावण १२

हेटौंडा कपडा उद्योग नेपाली सेना दिने तयारी, आज उद्योग तथा अर्थमन्त्री तथा सचिवहरुसँग छलफल हुने ।

काठमाडौँ, सरकारले हेटौंडा कपडा उद्योगको सञ्चालन जिम्मा नेपाली सेना दिने तयारी गरेको छ ।
नेपाली सेनालाई हेटौंडा कपडा उद्योग सञ्चालन गर्न दिने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आज (बुधवार) उद्योग तथा अर्थ मन्त्रालयका मन्त्री तथा सचिवहरु एवम् अन्य सरोकारवालासँग छलफल राखेका छन् ।
बैठकमा उद्योग सञ्चालनको अन्य मोडलमा पनि छलफल हुने छ तर मूलतः सेनालाई नै उद्योग सञ्चालनको जिम्मा दिने विषयमा छलफल हुनेछ ।


नेपाली सेनाको पोशाक आयातमा ठूलो रकम बाहिरिन्छ । त्यसो हुँदा सेनाले त्यही उद्योगमा उत्पादित कपडा पोशाकका रुपमा प्रयोग गरे उद्योग चल्न सक्छ भन्ने सरकारी सोचाइ सरकारको रहेको छ ।
सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि पूर्ण रुपमा बन्द छ । २०३५÷३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको यो कपडा उद्योग स्थापना भएदेखि सञ्चालनको अधिकांश वर्षहरुमा नाफामा गएको थिएन ।
तर, यसअघि २०६५ सालमै डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उद्योग पुनः सञ्चालनको प्रयास भएको थियो । २०७३ सालमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशी र २०७५ सालमा मात्रिका यादवले पनि उद्योग सञ्चालन गर्ने प्रयास गरेका थिए । यादवले त सेनालगायत अन्य सुरक्षा निकायलाई उद्योग सञ्चालन गर्न दिन अध्ययन नै गराएका थिए ।


यो उद्योगमा ९५ वर्षअघि सन् १९३० मा रुसले विकास गरेको प्रविधि प्रयोग भएको छ, उद्योग नै ५० वर्षअघि चीनले बनाइदिएको हो । सो उद्योग पुनः सञ्चालन गर्ने डा. बाबुराम भट्टराईको प्रयास पनि असफल भएपछि सरकारले दोस्रोपटक २०६६ कात्तिक ११ गते खारेजी गर्ने निर्णय गरेको थियो ।
हेटौंडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ । हेटौंडाको औद्योगिक क्षेत्रबाहिर पनि उद्योगको थप २० विगाहा क्षेत्रफलमा छ ।