२०८१ श्रावण १२

नेपालगञ्ज–कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु ।

काठमाण्डौँ, नेपालगञ्जबाट कैलाश–मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ ।
विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सघसंस्थाको पहलमा उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन ।
पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ ।


पर्यटन व्यवसायी डा. ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको बताए । उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगञ्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे ।
‘कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो ।’ होटल व्यवसायी पुनम भुसालले भने, ‘यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ ।’
पहिलो दिन मानसरोवर गएर त्यही बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ ।