२०८१ श्रावण १२

आजदेखि धरहराको जमिनमुनिको तलामा निःशुल्क पार्किङ सेवा शुरु ।

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आजदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने जनाएको छ ।
नयाँ सडकमा सवारी पार्किङ निषेध गरेपछि सहज पार्किङस्थल उपलब्ध गराउने उद्देश्यसहित धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराइएको महानगरको भनाइ छ ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो, “यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएका छौँ । सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको बेसमेन्टमा पार्किङ सेवा उपलब्ध गराइएको हो ।”
नगर प्रहरी पाण्डेका अनुसार तीन तला पार्किङ निर्माण गरिएको धरहरा क्षेत्रमा कुल डेढ लाख वर्गफिट क्षेत्रफलमा पार्किङ गर्न सकिन्छ । चारपाङ्ग्रे सवारीसाधन चार सय र मोटरसाइकल एक हजार पाँच सयभन्दा बढी पार्किङ गर्न सकिन्छ । संरचनागत रूपमा यो ठाउँ मुलुककै अहिलेसम्मको सबभन्दा ठुलो पार्किङ संरचना रहेको बताइएको छ ।