२०८१ श्रावण १२

प्रस्तावित महासचिव पाण्डेयको ३ नागरिकता र २ राहदानी, सिफारीकर्ताको कन्तिविजोग ।

काठमाडौँ, संघीय संसद् सचिवालयको महासचिवमा प्रस्तावित पद्मप्रसाद पाण्डेयले किर्ते गरी तीन वटा नागरिकता लिएको पुष्टि गर्ने कागजात गृह मन्त्रालयले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।
मन्त्रालयले तयार गरेको छानबिन प्रतिवेदनमा पाण्डेयले दुई वटा राहदानी समेत लिएको उल्लेख छ ।
गृहमन्त्रालयले सम्बन्धित शाखाबाट नागरिकता सम्बन्धी विवरण समितिमा पठाइसकिएको छ,’ शुक्रवार गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले भने । पाण्डेयले नागरिकता र राहदानीमा किर्ते गरेको उजुरी परेपछि पुस २४ गते समितिले गृहलाई पत्राचार गर्दै ‘विभिन्न मितिमा जारी भएका नेपाली नागरिकताको प्रमाणपत्रसँग सम्बन्धित कागजातहरू’ माग गरेको थियो । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट प्राप्त कागजातहरू समितिमा पठाएको हो । प्रतिवेदनले राहदानीका सम्बन्धमा परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागबाट यकिन गर्न उपयुक्त हुने सुझाव दिएको छ ।
गृह मन्त्रालयले तयार पारेको पाण्डेयको नागरिकता सम्बन्धी ‘विवरण तथा कागजात’ मा उनले फरक फरक मितिमा तीन वटा नागरिकता लिएको उल्लेख छ ।
प्रतिवेदनमा पाण्डेयले २०४६ असार २८ गते जन्म मिति २०२६ असोज १५ कायम गरी पहिलो नागरिकता लिएको उल्लेख छ । यसैगरी २०६६ भदौ ८ गते जन्म मिति २०३२ पुस २६ गते कायम गरी दोस्रो नागरिकता लिएको र नागरिकता हराएको बहाना बनाई २०७६ मंसिर २२ गते फेरि जन्म मिति २०२६ असोज १५ गते नै कायम गरी तेस्रो नागरिकता लिएको खुलासा गरिएको छ ।
पाण्डेले पहिलो पटक लिएको नागरिकताको प्रमाणपत्र नम्बर ३५ रहेको छ भने दोस्रो पटक लिएको नागरिकताको नम्बर ३९१०११÷१५५ रहेको छ । यस्तै तेस्रो पटक लिएको नागरिकता नम्बर ३९–०१–७६–०५५१५ रहेको छ । प्रतिवेदन अनुसार २०४६ साल असार २८ गते लिएको ३५ नम्बरको नागरिकता प्रमाणपत्रको विवरण कायम गरेर ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएको उल्लेख गरिएको छ ।