२०८१ श्रावण १२

आज नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवस, देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

काठमाडौँ, नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
स्थापना दिवसकै सन्दर्भमा कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिवसका दिन अर्थात् माघ १६ देखि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने कांग्रेसको कार्यक्रम छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि पहल गर्ने ध्येयले खुलेको नेपाली कांग्रेस नेपालकै सबैभन्दा पुरानो दल हो । पहिले सीमित उद्देश्यले खुलेको भएपनि पछि यसले बृहत् रूप लिँदै मुलुकको शासन सत्तामा स्थापित भएको काँग्रेसको दाबी छ ।
जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको नेपाली कांग्रेस ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठुलो दलकारुपमा रहेको छ ।


नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको छ ।
गणतन्त्र स्थापना र संविधान निर्माणमा समेत नेतृत्व गरेको कांग्रेस अहिले पनि सत्ता शक्तिको बागडोर सम्हालिरहेको छ । नेपालमा राणाशासनविरुद्ध अभियान चल्दै गर्दा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको चार महिनापछि भारतमा रहेका नेपाली युवाहरूको संयुक्त प्रयासमा २००३ साल माघ १२ देखि १५ गतेसम्म कोलकाताको भवानीपुरमा प्रथम भेला भएको थियो ।
जुन भेलाले नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेको थियो । भेलाले राणा शासनविरुद्ध लागेको आरोपमा जेलजीवन बिताइरहेका प्रजा परिषद्का नेता टंकप्रसाद आचार्यलाई सम्मान स्वरूप सभापतिमा चयन गरेको थियो भने बिपी कोइरालालाई कार्यवाहक सभापति चुनेको थियो ।


सो कार्यसमितिमा महामन्त्रीका रूपमा बालचन्द्र शर्मा, सङ्गठन विभाग प्रमुखमा डिल्लीरमण रेग्मी, सङ्गठन मन्त्रीमा कृष्णप्रसाद भट्टराई, प्रचार सङ्गठन सदस्यमा देवव्रत परियार र सदस्यहरूमा गोपालप्रसाद उपाध्याय भट्टराई, लाक्पाछिरिङ शेर्पा, रुद्रप्रसाद गिरी र कार्यालय सचिवमा ईश्वर बराललाई चयन गरेको थियो ।
त्यही भेला भएको मितिलाई आधार मानेर कांग्रेसले स्थापना दिवस मनाउने गरेको छ ।
२००६ साल चैत २७ देखि २९ गतेसम्म चलेको नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको संयुक्त महाधिवेशनले दुई पार्टीबिचको एकता गरी नेपाली कांग्रेसको जन्म भएको थियो । जसले नेपालको प्रजातान्त्रिक इतिहासमा अतुलनीय योगदान पुर्याएको मानिन्छ ।


नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो ।
संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठुलो दल कांग्रेस केन्द्र र सात प्रदेशसहित देशभर ३ सयभन्दा धेरै स्थानीय तहको नेतृत्व गरिरहेको छ ।