२०८१ श्रावण १२

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै आउने ।

काठमाडौँ, राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।
मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।
प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।
यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।
कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।