२०८१ श्रावण १२

राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा, आफ्नो परिचय खुल्ने कागजात लिएर जान आयोगको आग्रह ।

काठमाडौँ, भोली हुने राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा बिहीबार चुनाव हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।
निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेका छन् ।
त्यस्तै, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५ मतदाता छन् । कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता छन् ।
निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताहरूले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने प्रमाण कागजात लिएर मतदान गर्न सक्ने आयोगले जनाएको छ ।
आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरू प्रदेशसभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र मध्ये एक परिचय पत्रका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुनेछ ।