२०८१ श्रावण १२

मुग्लिङ–पोखरा पश्चिम सडकखण्ड निर्माणको दैनिक प्रगति हेरिने छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अबका दिनमा दैनिक रिर्पोट कार्डसहित कार्य प्रगति हेरेर मूल्याङ्कन गरिने बताएका छन् ।
मुग्लिङ–पोखरा पश्चिम सडकखण्ड निर्माणको ८० प्रतिशत समयावधि सकिँदा १४.२ प्रतिशत मात्र कार्य प्रगति भएको छ । सो सडकको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले अबका दिनमा दैनिक रिर्पोट कार्डसहित कार्य प्रगति हेरेर मूल्याङ्कन गरिने बताएका हुन् ।
मुग्लिङ–पोखरा पश्चिम सडक खण्डमा मात्र झण्डै ७ अर्ब ४० करोड रुपैयाँ छुट्याइएको छ । तनहुँको जामुनेदेखि पोखरासम्मको क्षेत्रमा मात्र ३८ किलोमिटर पर्दछ । १ सय २० वटा कल्भर्टमा ३८ वटा सम्पन्न भएका छन् ।
१२ वटा लामो पुलमध्ये १० वटा पुलको निर्माण कार्य थालनी भएको छ भने २ वटा पुल सुरु नै हुन नसकेको पोखरा–मुग्लिन सडकखण्डका आयोजना प्रमुख राजेश पौडेलले जानकारी दिए । पछिल्लो समय निर्माण कम्पनीसँग प्रतिबद्धता गराएपछि कामले केही गति लिएको छ ।


माघ महिनाभित्र पश्चिमखण्डको ५ किलोमिटर सडक पिच गर्ने कार्य सम्पन्न हुने लक्ष्य रहेको छ । यस क्षेत्रमा पोखरा महानगरभित्र १९ किलोमिटर सडक ६ लेनको हुनेछ भने निर्माण कम्पनीले जुलाई १५ अगाडि १८ किलोमिटर सडक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । यस खण्डको ठेक्का चाइनाको अन्युइ कायुवानले लिएको छ
यता जामुनेदेखि पूर्वीखण्डको ४१.४५ किलोमिटर सडकखण्डको ४४ प्रतिशत प्रगति भएको आयोजना प्रमुख श्यामकुमार यादवले मन्त्री ज्वालाद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सो खण्डमा १८ किलोमिटर एक साइड र ७ किलोमिटर दुवै साइड कालोपत्रे भएको छ भने १४ वटा छोटा पुल सम्पन्न भएका छन् । ३ वटा लामा पुलमध्ये २ वटाको निर्माण कार्य भइरहेको छ । आयोजनमा पूर्वीखण्ड एक वर्ष भित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको छ । उक्त पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको छ ।
समाजवादी प्रेस संगठन नेपालद्वारा कास्कीमा आयोजित कार्यक्रममा मन्त्री ज्वालाले विद्युत, खानेपानी र टेलिफोनलगायतका कामहरुलाई समन्वय गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
सडक निर्माणले गति लिन नसक्दा पोखराको पर्यटन विकासमा समेत प्रभाव परिरहेको हुँदा पछिल्लो समयमा संघीय, प्रदेश सरकारले निर्माण कार्यमा बढी चासो लिएका छन् ।