२०८१ श्रावण १२

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा गृहद्धारा सोधपुछ शुरु ।

संसद्का कार्यवाहक महासचिव पाण्डेयको नागरिकतामा गृहद्धारा छानबिन शुरु, राहदानी र अध्यागमन विभागसँग पनि जानकारी माग ।
काठमाडौँ, संघीय संसद् सचिवालयको महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीका विषयमा गृह मन्त्रालयले छानबिन तथा अनुसन्धान थालेको छ ।
पाण्डेयविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी परेको थियो । त्यसमा समितिले कागजात उपलब्ध गराउनु भनेपछि गृह मन्त्रालयले सम्बन्धित निकायमा ‘इन्क्वाइरी’ गरेको हो ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पाल्पा, राहदानी विभाग र राहदानीको प्रयोगका विषयमा अध्यागमन विभागसँग जानकारी मागेको हो ।
संसदीय समितिको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिँदाका सबै विवरण र राहदानीको विवरण उपलब्ध गराउन भनिएको छ । त्यसबाहेक पाण्डेयको राहदानी र त्यसको प्रयोगका विषयमा राहदानी विभाग र अध्यागमन विभागसँग पनि जानकारी मागिएको छ ।”
नौ महिनाअघि पाण्डेयलाई सभामुख देवराज घिमिरेले राजनीतिक आधारमा प्रतिनिधिसभा सचिव बनाएका थिए । संसद्का महासचिव डा. भरतराज गौतमलाई बीचैमा राजीनामा गर्न लगाउँदै सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
महासचिवमा सिफारिस भएसँगै पाण्डेयको फौजदारी अभियोग आकर्षित हुने ६ वर्ष घटाएर किर्ते नागरिकता बनाएको र त्यसबाटै राहदानी समेत बनाउँदै दुरुपयोग गरेको प्रमाण सार्वजनिक भयो ।
पाण्डेय स्वयम्ले त्यस्तो नागरिकताबाट पासपोर्ट बनाएको स्वीकार गरिसकेका छन् । पाण्डेयले उमेर घटाउँदै नागरिकता लिएको स्वीकार गरिसकेपछि पनि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले कार्यबाहक महासचिव बनाएका थिए ।
महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा कार्यरत पाण्डेय पदमा बहाल रहेकै बखत गतवर्ष बैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति लिएका थिए । गत वैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति पाएका पाण्डेयले त्यसको पाँच दिनपछि वैशाख २६ मा महान्यायाधिवक्ता कार्यालयबाट रमाना लिएका थिए ।
उनले ६ वर्ष उमेर घटाएर नागरिकता, त्यसैबाट राहदानी बनाउँदै १० वर्षपछि नागरिकता सच्याएका हुन् । पाल्पाबाट ०४६ असार २८ मा लिएको नागरिकता नम्बर ३५ भएको र नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते छ ।
उक्त नागरिकता कायम हुँदाहुँदै पाण्डेयले ०६६ भदौ २३ गते अर्को नागरिकता लिएका थिए जसमा जन्ममिति २०३२ पुस २६ गते छ । २०३२ पुस २६ गते कायम गरेको नागरिकताबाटै उनले ०६९ सालमा पासपोर्टसमेत लिए । पाण्डेयले ०७६ भदौ २३ मा पुरानै जम्ममिति कायम अर्को नागरिकता लिएका छन् । नागरिकता र राहदानी दुरुपयोग गरेको प्रमाणित भएमा पाण्डेयलाई दश वर्षसम्म जेल सजाय र ६ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।